ओलीले बैठकबाहिरबाट निकास खोज्नुपर्ने बताएपछि सचिवालयमा चर्काचर्की, प्रचण्डले दिए यस्तो चेतावनी

ओलीले बैठकबाहिरबाट निकास खोज्नुपर्ने बताएपछि सचिवालयमा चर्काचर्की, प्रचण्डले दिए यस्तो चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भनाभनको अवस्था आएको छ । बैठकको सुरुवातमै ओलीले प्रतिवेदनमाथि बहस, छलफल हुन नसक्ने बताएपछि प्रचण्डले पनि त्यसको जवाफ दिएका थिए । आफ्नो मन्तव्यका क्रममा पनि ओलीले प्रचण्डमाथि शब्दवाणले घोचपेच गरेका एक सचिवालय सदस्यले बताए । उनले बैठकबाट भाग्ने छुट कसैलाई नभएको भन्दै बहुमतले निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएका थिए । 

ओलीले बैठकमा आरोपपत्रका रुपमा आएको प्रस्ताव बैठकमा छलफल हुन नसक्ने बताएका थिए । प्रचण्डले बैठकमा ‘छलफल हुन सक्ने वा नसक्ने भन्ने तपाईँ को हो ?’ भनेर प्रतिप्रश्न गरेका थिए । सचिवालयका अधिकांश सदस्यले छलफल हुनुपर्ने बताएपछि ओलीले थप घोचपेच गरेका थिए ।

त्यस्तै ओलीले बैठकबाहिरबाट सहमति खोज्नुपर्ने भन्दै बैठक नै आवश्यक नभएको अडान राखेका थिए । त्यसमा पनि प्रचण्डले पार्टी बैठक छल्न कसैले पनि नमिल्ने र पार्टीले गर्ने निर्णय सबैले मान्नुपर्ने भन्दै प्रतिवाद गरेका थिए । 

सचिवालयमा बोल्ने महासचिव विष्णु पौडेलबाहेका सम्पूर्ण सदस्यले प्रचण्डको समर्थन गरेका थिए । पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका ओली सचिवालयमा झनै एक्लिएका छन् ।