नेपालमा प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार मौलाएको भन्ने ट्रान्सपरेन्सीको प्रतिवेदन नेपाल सरकारद्बारा अस्वीकार

नेपालमा प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार मौलाएको भन्ने ट्रान्सपरेन्सीको प्रतिवेदन नेपाल सरकारद्बारा अस्वीकार

काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालको सुशासन र भ्रष्टाचारको अवस्थालाई समेटेर हालै जारी गरेको एशिया प्रतिवेदन-२०२० लाई अस्विकार गर्ने बताएको छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीन तथ्यको जगमा तयार पारिएको बताए ।

मन्त्री गुरुङले प्रमाणित नभएका आधारहिन तथ्य जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणबाट अभिप्रेरित भइप्रतिवेदन आएको बताए। झण्डै तीन करोड नेपालीमध्ये १ हजार व्यक्तिहरुसँग टेलिफोनबाट मनोगत धारणाका आधारमा तयार गरिएको प्रतिवेदन हेर्दा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल र तिनमा आवद्ध व्यक्तिहरुको आवद्धता, तिनको स्वच्छता, निष्पक्षता कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न सकिन्न पत्रकार सम्मेलनमा विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री गुरुङले बताए ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको एशिया प्रतिवेदन-२०२० मा नेपालमा भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा प्रधानमन्त्री नै उत्रिएको उल्लेख गरिएको छ । उक्त संस्थाको त्यस्तो आधारहिन आरोप सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने र सरकारलाई असफल प्रमाणित गर्ने नियोजित प्रयास स्वरुप आएको भन्दै मन्त्री गुरुङले प्रतिवेदनलाई कुनै पनि हालतमा स्विकार गर्न नसकिने बताए।

सरकारको विरुद्धमा मिसनको रुपमा प्रचार सामग्री आएको भन्दै सरकारका प्रवक्ता मन्त्री गुरुङले सरकारविरुद्ध रहेका, सरकारको प्रगति नचाहने, सरकार विरोधी गतिविधिमा लागेका मान्छेहरुलाई सोधेर प्रतिवेदन तयार पारिएको बताए ।