काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेश गरेका छन् । ३८ पृष्ठको जवाफी पत्रमा ओलीले बुँदाबुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिएका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा पेश गरेको जवाफी पत्र सचिवालय सदस्यलाई बाँडिएको छ । सचिवालय सदस्यले अध्ययन गरेपछि मंसिर १६ गते अर्थात् मंगलबार बस्ने बैठकमा यसका विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्ताव र यो प्रस्ताव दुवैको अध्ययनपछि १६ गतेको बैठकमा छलफल गर्ने गरी आजको बैठक सम्पन्न भएको हो ।
१६ गतेको बैठकमा छलफल नसकिए १७ गते पुनः सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए । सचिवालय बैठकमा छलफल टुंगो नलागे १८ गते बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ । प्रवक्ता श्रेष्ठका अनुसार स्थायी किमिटी बैठकमा पनि विवाद टुंगो नलागे २५ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
शनिबाको बैठकमा अध्यक्ष ओली, कार्यकारी अध्यक्ष प्रचण्डसहित बैठकमा सहभागी नेताले आ–आफ्नो धारणा राखेका छन् । नेताहरुले धारणा राख्ने क्रममा पार्टी विभाजनतर्फ जानु नहुने कुरामा जोड दिएको प्रवक्ता श्रेष्ठले बताए ।
ओलीले पेश गरेको ३८ पृष्टको जवाफी प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् ।