चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं पहिलो वरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै उनको भ्रमणको औपचारिक घोषणा गरेको हो ।

परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले चिनियाँ रक्षामन्त्री वेइको भ्रमणको तयारी तीब्र पारेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भेटमा दुईपक्षीय सम्बन्ध सुधारका विषयमा कुराकानी हुने बुझिएको छ । रक्षामन्त्री वेई नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लागेका हुन् ।

उनी नेपाल भएर बंगलादेश र पाकिस्तानको भ्रमणमा जाने कार्यक्रम छ । कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेइ उच्च चिनियाँ अधिकारी हुन् ।