काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले भारतमा बन्ने कोभिड–१९ विरुद्धको भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराइने बताएका छन्। विश्वमै सबैभन्दा धेरै भ्याक्सिन उत्पादन गर्ने देश भएको भारत यस लडाइको अग्रपङ्तीमा खटिरहेको र आफ्नो देशमा धेरै वटा भ्याक्सिन निर्माणमा काम भैरहेको उनले बताए।
विदेशसचिव श्रृंगलाले ती भ्याक्सिन तयार हुनासाथ नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराइने बताएका हुन्। ‘भारतमा कोभिडका पाँच भ्याक्सिन बनिरहेका छन्। ती परीक्षणको अन्तिम चरणमा छन्। म नेपाली जनतालाई सुनिश्चित गराउन चाहन्छु कि भ्याक्सिन बन्नेबित्तिकै नेपालको आवश्यकता अनुसार आपुर्ति गर्ने हाम्रो प्राथमिकतामा हुनेछ,’ एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘भारतमा जस्तो जेनेटिक प्रोफाइलमा भ्याक्सिनले काम गर्छ नेपालमा पनि त्यसले काम गर्नेहुँदा यो उपयुक्त हुनेछ’
यो महामारीमा नेपाल र भारत दुवै देश सँगै लडिरहेको र सँगै यसमाथि जित हासिल गर्ने उनले बताए।