काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्दैछ । शनिबार एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ । सचिवालय बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावलाई ओलीले अन्तिम चरणमा पुर्याएको उनी निकटका नेताहरुले बताएका छन् । आफु निकट सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरी ओलीले प्रतिवेदन तयार गरेका हुन् ।
ओलीले तयार गरेको प्रतिवेदनमा प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेदनको एक एक गरी जवाफ दिने प्रयास गरेको बताइन्छ । साथै ओलीले पनि आफ्नो प्रतिवेदनमा प्रचण्डलाई विभिन्न आरोप लगाउनुको साथै युद्व अपराधको नाममा हेगसम्म पुर्याउन सकिने विषय उल्लेख गरेको सार्वजनिक भएको छ । समग्रमा ओलीले प्रचण्डलाई तर्साएर प्रतिवेदन फिर्ता लिन बाध्य बनाउने रणनीति लिएको बुझ्न सकिन्छ ।
प्रधानमन्त्री ओलीको प्रतिवेदनपछि पार्टी विवाद थप चुलिने आंकलन गरिएको छ । दाहालले ओलीलाई पार्टी पद्धती र विधान अनुरुप नचलाएको आरोप लगाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका अध्यक्ष ओली र दाहाल एक अर्का विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् । ओली पक्षले पटक पटक गरेको आग्रहलाई वेवास्था गर्दै प्रचण्ड माधव समूहले सचिवालयमा प्रस्तुत प्रतिवेदन तल्ला कमिटीमा बाँडेकोले नेकपा फुटको दिशामा रहेको आँकलन गरिएको छ ।