राजावादीहरुले चकचके बॉदरले झैं आफ्नै अण्डकोष नफोरून्: डा. भट्टराई

राजावादीहरुले चकचके बॉदरले झैं आफ्नै अण्डकोष नफोरून्: डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरु राष्ट्रवादी नभएको दाबी गरेका छन् । पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अरू जेसुकै दाबी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ हौँ भनेर दाबी नगर्न पूर्वराजा र राजावादीहरूलाई चेतावनी समेत दिएका छन् । 

उनले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको बताएका छन् । समाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले राजवादीहरुले देश बाहिर भइरहेको धर्मको राजनीतिसँग राजावादीहरुको सालनाल जोडिएको कुरालाई नेपाली जनताले बुझेको भन्दै भ्रममा नपार्न चेतावनी दिएका हुन् । 

उनले ठूलो परिवर्तनपछि नेपालमा गणतन्त्र ल्याइएको भन्दै यसको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ भन्ने बारेमा सोच्न समेत राजावादीहरुलाई आग्रह गरेका छन् । ‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफुलाई ’राष्ट्रवादी’चैं नभनून् !, उनको जस्तो धर्मको राजनीति देशबाहिर कस्ले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून् ।’ शुक्रबार बिहान सामाजिक ट्विटरमा उनले लेखेका छन्, ‘नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थीरताले देशको भविष्य के हुन्छ, सोचून् !’  साथै उनले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एउटा खुट्टा भाँचिदा पूरै खाट लड्छ भन्ने वैज्ञानिक तथ्यलाई बुझ्न पनि उनले चेतावनी दिएका छन् । 

यो पनि जनकपुर र पोखरामा राजावादीको शक्ति प्रदर्शन उनले लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा हुन् । यीमध्ये कुनै एक खुट्टा भॉचिँदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझून् । चकचके बॉदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् !'