काठमाडौं । छिमेकी मुलुक भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार बिहान १०.४० मा त्रिभुवन विमानस्थलमा उत्रिएका हुन्। परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा विदेश सचिव श्रृंगला नेपाल आएका हुन्।
कोरोनोको कारण नेपाल भारतबीच नियमित उडान नभएका कारण उनी इन्डियन एयर फोर्सको विमानबाट आएको परराष्ट्र सचिव पौडेलले जनाकारी दिए। श्रृंगलाले दुई दिन काठमाडौंमा रहँदा आफ्ना समकक्षी पौडेलसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
‘यो मैत्रीपूर्ण भ्रमण हो। कुनै निश्चित एजेण्डामा वार्ता गर्नका लागि गरिएको भ्रमण होइन,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘वार्तामा नेपाल–भारत द्विपक्षीय चासोका सबै विषय उठ्ने संभावना छ।’
नेपाल भारतबीच सीमा विवादका कारण सम्बन्ध नै तिक्ततापूर्ण भएका बेला भएको विदेशसचिवको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।