काठमाडौं । मन्त्रिपरिषद बैठकले तीन जना सहसचिवलाई सचिव बढुवाको निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव डा. गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिव बढुवा गर्ने निर्णय गरेको हो। बुधबारकै मन्त्रिपरिषद बैठकले भारत र बङ्गलादेश उडान खुला गर्ने निर्णय पनि गरेको छ ।
साथै बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। 'निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ,' बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले भने,'कोभिडका कारण अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको हो।'
त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो। ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो। कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ।