बुटवल । लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झन्डा देखाइएको छ । नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले बुधबार पौडेललाई बुटवलमा कालो झण्डा देखाएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवलको पुरानो बसपार्क नेपालगञ्जरोडमा कालोझण्डा देखाएको नेपाली काँग्रेसका नेता विष्णु पोखरेलले जनाएका छन् ।
सडकमा बाक्लो सङ्ख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । मङ्गलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुदैछन् । कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने भने नभएको जनाइएको छ ।