पूर्वमाओवादीका नेताहरूलाई प्रचण्डले भने- 'पार्टी एकताकै पक्षमा छु, तर प्रस्ताव फिर्ता हुँदैन'

पूर्वमाओवादीका नेताहरूलाई प्रचण्डले भने- 'पार्टी एकताकै पक्षमा छु, तर प्रस्ताव फिर्ता हुँदैन'

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टी एकताकै पक्षमा निर्भीकतापूर्वक उभिएको बताएका छन् । पूर्वमाओवादी केन्द्रका मध्यधारका नेताहरू सोमबार बिहान प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरू प्रचण्डलाई भेट्न पुगेका थिए ।

भेटमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने र पार्टीमा देखिएका समस्याहरूको छलफलबाहेक अर्को विकल्प नभएको बताएको नेताहरूको जिकिर छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन कुरिरहेको पनि बताएका थिए । र, पार्टीको भाग्य र भविष्य त्यसैले निर्धारण गर्ने पनि उनको भनाइ रहेको नेताहरू बताउँछन् ।

रायमाझीले पनि दुवै दस्तावेज केन्द्रीय कमिटी र आवश्यक पर्दा महाधिवेशनको थलोसम्म लैजानुपर्ने नै बताउँछन् । “दुवै दस्तावेज केन्द्रीय कमिटीमा लैजानुपर्छ । त्यहाँबाट सुझावहरू आउँछ । विवाद समाधान गर्ने उपाय आउँछ,” उनी भन्छन्, “एक आपसमा कति आरोप हुन्, कति साँचो हुन् सदस्यहरूले छान्ने मौका पनि पाउँछन् । बहसले राम्रै गर्छ ।”

उनले पार्टी एकता नटुटोस भनेर आफूहरूले भूमिका खेलिरहेको पनि जानकारी दिए ।