काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्।
चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ मा नेपाल भ्रमणमा आउने तय भएको छ।
चीनका राष्ट्रपति सी चिनफिङले गतवर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङहे नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन्।
केहि समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।
चीन र भारतबीच सीमा विवाद चर्किरहेका बेला अमेरिका र भारतले पछिल्लो समय यस क्षेत्रमा बढाउँदै लगेको गठबन्धनबीच चीनबाट नेपालमा हुन लागेको उच्चस्तरीय राजनीतिक भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको हो।