काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार तीन घन्टा लामो छलफल भएको छ । सत्तारुढ दल नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली र देउवाबीचको यो छलफललाई रहस्यपूर्ण मानिएको छ ।
ओली आफ्ना दलबलसहित देउवा निवास पुगेर तीन घन्टा लामो छलफल भएको र त्यसको नतिजा केही दिनमै देखिने जनआस्थाका सम्पादक किशोर श्रेष्ठले जानकारी दिएका छन् ।
स्रोतका अनुसार अहिले नेकपामा देखिएको विवाद र पार्टी विभाजन भएमा कसरी अघि बढ्नेसम्मको छलफल भएको बुझिएको छ । यस्तै, संवैधानिक निकायमा खाली भएका पदमा नियुक्ति गर्ने विषयमा पनि छलफल भएको बुझिएको छ ।
ओली पार्टीभित्रबाट अफ्यारो परिस्थिति आए र प्रचण्ड माधव नेपाल समूहले कुनै एक पदबाट राजीनामा दिन बाध्य बनाएमा अध्यादेश ल्याएर पार्टी फुटाउने र कांग्रेसको समर्थनमा प्रधानमन्त्री पदमा कायमै रहने रणनीतिका साथ अगाडि बढेको बताइन्छ ।