नेता सुरेन्द्र पाण्डेमाथि चितवनमा दुर्व्यवहार, माधव नेपालले निकाले यस्तो विज्ञप्ति

नेता सुरेन्द्र पाण्डेमाथि चितवनमा दुर्व्यवहार, माधव नेपालले निकाले यस्तो विज्ञप्ति

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै निर्वाचन क्षेत्रमा दुर्व्यवहार भएको छ। चितवनमा शनिवार आयोजित राप्ती नगरपालिका कमिटीको भेलामा पाण्डेमाथि कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन्।

कार्यक्रममा पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको विरोधमा अभिव्यक्ति दिएपछि कार्यकर्ताहरू आक्रोशित भएका थिए। उनले पार्टी अध्यक्ष ओलीको व्यक्तिवादले नेकपा समाप्त हुने बताएका थिए। पार्टीले गरेको निर्णय नमान्ने र एकलौटी तरिकाले सरकार चलाउन खोज्ने प्रधानमन्त्रीको कार्यशैलीले नेकपा कमजोर बनेको पाण्डेको भनाई थिए।

ओलीविरुद्ध अनावश्यक आक्षेप लगाएको भन्दै कार्यक्रममा नेकपा कार्यकर्ताले होहल्ला गरेका थिए। आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध बेइज्यतमात्र नभई जनतालाई भ्रमको खेती गरेको समेत कार्यकर्ताको आरोप छ। पाण्डेका अभिव्यक्ति पार्टी एकताको पक्षमा नभइ विभाजन गराउने खालको रहेको कार्यक्रममा उपस्थित कार्यकर्ताहरूको भनाई छ। कार्यकर्ताहरूले होहल्ला गर्न थालेपछि नेता पाण्डे कार्यक्रमबाट बाहिरिएका छन्।

यस घटनालाई लिएर पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले निन्दा गरेका छन् ।  शनिवार दिउँसो एक विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता नेपालले सो घटनाको निन्दा गरेका हुन् । 

उनले लेखेका छन्, ुगृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यबहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।ु