पार्टीको संकट निवारण गर्न हामी असफल भयौं, सबैले राजीनामा दिउँः महासचिव पौडेल

पार्टीको संकट निवारण गर्न हामी असफल भयौं, सबैले राजीनामा दिउँः महासचिव पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव ल्याएका छन् । बुधबार बसेको सचिवालय बैठकमा सबै सदस्यहरु पार्टीको संकट निवारणमा असफल भएको भन्दै सामूहिक राजीनामा दिन आग्रह गरेका हुन् । 

उनले अहिलेका सचिवालय सदस्यहरु पार्टीको विवाद हल गर्न असक्षम रहेकाले दोस्रो पुस्ताका नेतालाई अवसर दिनुपर्ने बताएका छन् ।
‘पार्टीको विवाद हल गर्न नसक्ने भए हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं । स्थायी समिति बैठकमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ उनले भने ।

सचिवलायको बैठक मंसिर १३ गते बस्नेगरी स्थगित भएको छ । त्यस्तै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । १३ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव ल्याउने छन् ।