चिनियाँ राजदूत यान्छीको सक्रियताले बचाउला नेकपालाई फुटबाट ?

चिनियाँ राजदूत यान्छीको सक्रियताले बचाउला नेकपालाई फुटबाट ?

काठमाडौं । फुटनजिक पुगेको भनिएको नेकपा विवाद मत्थर पार्न फेरि चिनियाँ राजदूत सक्रिय भएकी छन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेला नेपालस्थित चिनयाँ राजदूत होउ यान्छीले विगतमा झैँ फेरि सक्रियता बढाएकी छन् ।

राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री  ओलीलाई बालुवाटारमा भेटेकी छन् । राति आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको यान्छीले दुई घण्टा ओलीसँग भेटवार्ता गरेको सुरक्षा स्रोतले जनाएको छ । भेटमा यान्छीले विवाद मिलाएर अघि बढ्न सुझाव दिएलगत्तै उक्त सन्देश लिएर प्रधानमन्त्री ओली राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।

चिनियाँ राजदूतसंगको भेटघाट सकिएलगत्तै प्रधानमन्त्री रास्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएकी थिइन्। प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुबैबाट हट्नु पर्ने आशयसहितको राजनीतिक दस्तावेज नै सचिवालय बैठकमा पेस भएपछि चिनियाँ राजदूत यान्छीले फेरि सक्रियता जनाएकी हुन् ।

यसअघि विवाद उत्कर्षमा पुग्दा पनि ओलीको राजीनामा मागिएको थियो । त्यसबेला पनि यान्छी सक्रिय भएकी थिइन् । १७ वैशाखमा नेकपा सचिवालय बैठकमा प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । त्यसबेला राजदूत यान्छीले राष्ट्रपति भण्डारी, ओली, प्रचण्ड, खनाल र नेपालसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

१८ वैशाखमा प्रधानमन्त्री ओलीसँग भेट गरकी राजदूत यान्छीले अर्को दिन प्रचण्ड र नेपाललाई छुट्टाछुट्टै भेटेकी थिइन् । असार तेस्रो साता पनि नेकपामा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि यान्छीले ओली, प्रचण्ड, नेपाल र खनाललाई भेटेकी थिइन् । ती भेटवार्तामा यान्छीले दबाब दिएपछि प्रचण्ड र नेपालले ओलीको राजीनामा लगायतका एजेण्डा स्थगित गरेका थिए ।

विवाद चर्किदै जाँदा नेकपा फुटको संघारमा छ । आज सचिवालय बैठक बोलाएकै बेलामा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएकोले नेकपा विवाद आजै वार कि पार हुने देखिएको छ । यसैक्रममा आज यान्छी नेकपाका अन्य शीर्ष नेताहरुलाई पनि भेट्ने सम्भावना छ ।