नेकपा फुटको डिलमा पुगेपछि राष्ट्रपतिले बोलाईन् प्रचण्डलाई, गरिन् यस्तो आग्रह

नेकपा फुटको डिलमा पुगेपछि राष्ट्रपतिले बोलाईन् प्रचण्डलाई, गरिन् यस्तो आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा राष्ट्रपति भण्डारीले मंगलवार साँझ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शितल निवास बोलाएर परामर्श लिएकी छिन् । 

शितल निवास स्रोतका अनुसार साढे ५ बजे प्रचण्ड राष्ट्रपति भवन प्रवेश गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको बैठक सार्न आग्रह गरेको केही एक घण्टामै प्रचण्डलाई शितल निवासले बोलाएको थियो । करिब ४ बजेतिर प्रधानमन्त्री ओलीले बुधबारको बैठक केही दिन स्थगित गरौ भन्ने प्रस्ताव गरेपनि प्रचण्डले बैठक गरेर बैठकबाटै स्थगित गरौ भनेका थिए ।

‘ओलीले बैठक सारौ भन्ने प्रस्ताव गरेको र प्रचण्डले बैठक राखेर छलफल गरौ भनेको केही समयमै राष्ट्रपति कार्यालयबाट भेटघाटका लागि समय मिलाइएको भन्दै फोन आएको थियो ’, खुमलटार निकट स्रोतले भन्यो । आफ्नो कुरा नसुनिएपछि वालुवाटारले शितल निवासलाई प्रयोग गरेर अध्यक्ष प्रचण्डलाई फकाउने प्रयास गरेको देखिएको खुमलटाार निकट स्रोतले जनाएको छ । 

मंगलबार विहान महासचिव विष्णु पौडेल खुमलटार पुगेर प्रचण्डले बैठकमा पेश गरेका राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर प्रचण्डले त्यसलाई अस्वीकार गरेपछि वालुवाटारमा ओली समूहको छुटटै बैठक बसेर सचिवालय बैठक सार्न प्रस्ताव गरिएको थियो ।

यसअघी पनि राष्ट्रपतिले नेकपाका नेताहरु वामदेव गौतम र राम बहादुर थापासँग अलग अलग भेट गरि नेकपाको विवाद मिलाउन समन्वयकारी भूमिका खेल्न सम्झाएकी थिइन् ।