तिहारपछि लकडाउन गर्न गरिएको सिफारिस लागू होला ?

तिहारपछि लकडाउन गर्न गरिएको सिफारिस लागू होला ?

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाखनजिक पुगेको छ। पछिल्लो समय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार काठमाडौंमा ७८ हजार ६ सय ५०, भक्तपुरमा ७ हजार १ सय ३० र ललितपुरमा ११ हजार ३ सय ७९ संक्रमित छन्। कुल संक्रमित ९७ हजार १ सय ५९ छन्।

मुलुकभर रहेको कुल संक्रमितको आधा संक्रमित उपत्यकामा छन्। मुलुकभर २ लाख १० हजार ९ सय ७३ संक्रमित पुग्दा उपत्यकामा मात्र ९७ हजार भन्दा बढी रहेको छ। कुल संक्रिय संक्रमित ३३ हजार ३ सय ७९ र उपत्यकामा मात्र १७ हजार ६ सय ७१ छन्।

संक्रमितको संख्या र मृत्युदर बढ्नुले उपत्यकामा दोस्रो लहरको संक्रमण बढ्ने आशंका गर्न थालिएको छ। चाडपर्वले उपत्यकाबाहिर गएका मानिसहरु केही सातापछि भित्रिने भएकोले अझ व्यापकरूपमा संक्रमण बढ्ने जस्तो देखिएको छ। पछिल्लो समय पिसिआर परीक्षण कम भएकोले संक्रमण दरको संख्या पनि कम हुँदै गएको छ।

संक्रमितको संख्या बढेपछि उपत्यका नगरपालिका फोरमले गत बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका थिए। फोरमले उपत्यकामा कोरोना नियन्त्रण गर्न छठ पर्व पछाडि लकडाउन गर्न सिफारिस गरेको थियो।

स्वास्थ्य मन्त्रालयले पनि २५ हजार संक्रिय संक्रमित भएमा मुलुकमा लकडाउनमा जान सक्ने घोषणा गरेको थियो। संक्रमणको संख्या बढिरहँदा लक्षण भएका र नभएका संक्रमितलाई व्यवस्थापन गर्न आइसोलेसन बनाउन स्थानीय सरकार चुकिरहेका छन्। तर, उपत्यकामा भएका आइसोलेसन सबै रित्तिँदै गएको दाबी गर्न थालेका छन्।  

उपत्यकामा संक्रमण दर बढिरहेको समयमा, सिसिएमसीका निर्देशक तथा उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री र गृहमन्त्रीलाई संक्रमण दर फैलिन नदिनलाई यस विषयमा केही थप निर्णय गर्नलाई आग्रह गरिएको उपत्यका नगरपालिका फोरम सचिव तथा मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। छठ पर्वपछि मन्त्रिपरिषदको बस्ने बैठकले लकडाउन गर्न निर्णय गर्नलाई अनुरोध गरेको उनी बताउँछन्।

निषेधाज्ञा, लकडाउन र अन्य विधि अपनाउँदा संक्रमण फैलन नसक्ने उनले तर्क गरे। 'तत्काललाई १४ देखि २१ दिनसम्म लकडाउन गर्ने हो र पुनः खोल्ने हो' उनले भने, 'अन्तर्राष्ट्रिय अनुभवमा पनि अहिले संक्रमण दर फैलन नदिनलाई लकडाउन गरिएको छ।'

अहिले तत्काल गरिएको लकडाउनले उपत्यकाबाहिर गएका मानिस प्रवेश गर्न पाउँदैनन् त्यसैले लकडाउन गरी उपत्यकामा व्यापक परीक्षण गरी संक्रमितलाई आईसोलेट गर्ने योजना रहेको उनको भनाइ छ। निषेधाज्ञा र लकडाउन गरिएन भने उपत्यकामा संक्रमणको दोस्रो लहर देखिने उनले बताए।