नेकपाको सचिवालय बैठकअघि दुवै समूह आन्तरिक छलफलमा

नेकपाको सचिवालय बैठकअघि दुवै समूह आन्तरिक छलफलमा

काठमाडौँ । आज बस्न लागेको नेकपा सचिवालय बैठकअघि दुवै पक्षले आन्तरिक छलफलमा जुटेका छन् । अपराह्न ४ बजे डाकिएको बैठकको एजेण्डा नै तय नभएकोले यो बैठकमा दुवै पक्षले एक अर्काको प्रतिरक्षा गर्नेछन् । बैठकको निधो भएसँगै दुबै पक्षले छलफल तीव्र पारेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालसहितका बहुमत सचिवालय सदस्यहरू ओलीले पार्टीभित्र सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएपछि रूष्ट छन् । २६ भदौको पार्टी  स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि प्रचण्ड-नेपालसहितका बहुमत सचिवालय सदस्यहरूले अब कसरी प्रस्तुत हुने भनेर छलफल तीव्र पारेका छन् ।

स्रोतका अनुसार पार्टी निर्देशनविपरित ओली अघि बढिरहेकाले उनीविरूद्ध बहुमतमा निर्णय गरेर अघि बढ्ने तयारीमा दाहाल-नेपाल समूह छ । तर, बहुमतमा निर्णय भए पार्टी नै फुट्नेसम्मको चेतावनी ओलीले दिएकाले आज उनको प्रष्ट मनसाय बुझेर अघि बढ्ने गरीको तयारी प्रचण्ड-नेपालले गरेको निकट स्रोतले जानकारी दिएको छ ।

यता, ओलीले भने पार्टीको काममा केन्द्रित हुने पर्ने दाहालले स-साना नियुक्ति र सरकारी काममा पनि हस्तक्षेप गरेको ठहर गरेको छ । पार्टी र सरकार सञ्चालनमा दुई अध्यक्षको कार्यादेश प्रष्ट हुने गरी प्रष्ट कार्यविभाजन गरी अघि बढ्नु पर्ने विषयलाई ओलीले छलफलमा लान लागेको उनी निकट नेताहरूले बताएका छन् ।