नेकपाको सचिवालय बैठक बस्दै, जारी विवाद वार कि पार हुने छनक

नेकपाको सचिवालय बैठक बस्दै, जारी विवाद वार कि पार हुने छनक

काठमाडाैं । नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला बस्नलागेको बैठकलाई चासोपूर्वक हेरिएको छ । प्रचण्ड र नेपालसहित सचिवालयका पाँच शीर्ष नेताको लिखित अनुरोध र दुईपटकको अनौपचारिक बैठकको दबाबपछि प्रधानमन्त्रीको समझदारीमा बैठक बोलाइएको हो ।

बैठकमा प्रस्तुत हुने एजेन्डाबारे दुई अध्यक्षबीच सहमति नभएकाले प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै आन्तरिक रणनीति बनाएका छन् । बैठकको एजेन्डा र छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार र अध्यक्ष प्रचण्डले निजी निवास खुमलटारमा निकट नेताहरूसँग बिहीबार बेग्लाबेग्लै परामर्श गरेका छन् ।

प्रचण्डले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग बेग्लाबेग्लै परामर्श गर्दै सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको असफलता र स्थायी कमिटी निर्णय कार्यान्वयनका लागि उनको अवरोधक भूमिकाबारे विस्तृत रूपमै विषय उठान गर्ने तयारी गरेका छन् ।

दुबै समूह आ आफ्नो रणनीतिका साथ आजको बैठकमा प्रस्तुत हुने तयारीमा रहेकोले जारी विवाद वार कि पार हुने छनक देखिएको छ ।