खुमलटारमा प्रचण्ड-नेपाल समूहको बैठक, यस्तो छ भोलिको रणनीति

खुमलटारमा प्रचण्ड-नेपाल समूहको बैठक, यस्तो छ भोलिको रणनीति

काठमाडौं । नेकपा सचिवालय बैठकका पूर्व सन्ध्यामा आज साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पाँच भाइको राणनीतिक बैठक बसेको छ । प्रचण्ड निवासमा बसेको सो बैठक खासगरी भोलिको सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा नै केन्द्रित भएको बुझिएको छ । 

सचिवालयका बहुमत सदस्य प्रचण्डकै पक्षमा रहेका छन् । उनीहरुले भोलिको सचिवालय बैठकमा के कसरी कुरा राख्ने भन्ने बारेमा छलफल गरेका बुझिएको छ । प्रचण्ड निवास स्रोतले भोलिको बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको बताएको छ ।

विहीबार साँझको सो बैठकमा बहुमत सचिवालयहरु प्रचण्डसहित, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठगरी पाँच जना रहेका थिए । उनीहरुबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।

यसअघि निकै लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन सहमत भएका थिए र सोही बमोजिम शुक्रबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको  छ । मंगलबार मात्र पनि अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यको छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

पछिल्लो समयमा अध्यक्षदय केपी ओली र प्रचण्डबीचको असमझदारी थप बढेको छ । जसका कारण अध्यक्ष ओली त बैठक नै नबोलाउने अडानमा रहेका थिए । तर उनले नबोलाए पनि अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाएर एकतर्फी निर्णय गर्ने जनाएपछि ओली नै भोलिका लागि बैठक बोलाउन सहमत भएका हुन् ।