मंसिरभरी सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

मंसिरभरी सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका एक महिना अझै बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ३० गतेसम्म जारी प्रतिबन्ध एक महिना थपिएको जानकारी दिएका छन्। २०७६ चैत ११ गतेदेखि देशमा लकडाउन गरेयता सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्दै आएको छ। 

सरकारले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परिक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। त्यस्तै कात्तिकदेखि आउँदो चैतसम्म प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको आधा तलब भक्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ।