काठमाडौ । नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठक बिहीबार बस्ने भएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले दुई दिनपछि बैठक बोलाउने निर्णय गरेको हो । दुई दिन अर्का अध्यक्ष केपी ओलीलाई कुर्ने र त्यसपछि बिहीबार सचिवालय बैठक बस्ने निर्णय बहुमत सदस्यहरुको बैठकले निर्णय गरेको हो ।
बहुमत सचिवालय सदस्यले बैठकमा सहभागी हुन ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेका छन । बहुमत सदस्यहरुले आफूहरू पार्टी एकताको पक्षमा संवेदनशील रहेकैले बैठकका लागि धैर्य गरिरहेको बताएका छन । आफूहरूको धेर्यलाई कमजोरीका रूपमा नबुझ्न उनीहरुले अध्यक्ष ओलीलाई चेतावनी दिएका छन ।
सचिवालय बैठक राख्ने पक्षमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु एकमत भएका छन् । बैठकअघि दाहालले प्रधानमन्त्री एबं पार्टी अध्यक्ष केपी ओलीसँग समेत बालुवाटारमा छलफल गरेका थिए । सो क्रममा प्रचण्डले भोलि ओलीको उपत्यकाबाहिर जाने कार्यक्रम रहेकाले २७ कात्तिकमा बैठक बस्नका लागि सहमति मागेपनि ओलीले सहमति दिएका थिएनन । ओलीसँग सहमति लिनका लागि लिखित पत्र बुझाएको तीन दिन हुँदा पनि बैठकका विषयमा ठोस प्रस्ताव नआएपछि कार्यकारी अधिकार प्रयोग गर्दै दाहालले आज बहुमत सदस्यसँग छलफल गरेका हुन ।
प्रचण्डले बैठक राख्ने तयारी गरेपछि स्थायी समिति सदस्य शंकर पोखरेलले आजै बिहान खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए । सो क्रममा पोखरेलले सहमतिमा मात्रै बैठक राख्न आग्रह गरेका थिए । यसअघि बहुमत सचिवालय सदस्यले सहमतिका लागि अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुई दिनभित्र बैठक बोलाउन लिखित पत्र बुझाएका थिए ।