काठमाडाैं । पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानका लागि गठित कार्यदलका सदस्यलाई बालुवाटार बोलाएका छन् । ओलीले बोलाएको बैठकमा पूर्व माओवादी समूहका नेताहरू भने सहभागी नहुने भएका छन् । कार्यदलमा २ जना माओवादीनिकट नेता रहेका छन् ।
नेकपा सचिवालय बैठकले गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा ओली पक्षबाट महासचिव पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल थिए ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र पम्फा भुसाल तथा माधव नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए ।
कार्यदलले दिएको सुझाव भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले अनुमोदन गर्दै विवाद समाधान भएपछि कार्यदल निस्किृय थियो ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि कार्यकारी अध्यक्ष प्रचण्ड लगायत सचिवालयका ५ जना सदस्यले ४८ घण्टाभित्र सचिवालय बैठक बोलाउन दिएको अल्टिमेटम आज सकिँदैछ । आज नै महासचिव विष्णु पौडेलले प्रचण्डलाई भेटेर ततकाल कुनै अप्रिय कदम नचाल्न आग्रह गरेका थिए ।