काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन् । सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका हुन् । भेटमा महासचिव पौडेलले दुई अध्यक्षबीच सहमति कायम गरेपछि मात्र सचिवालय बैठक डाक्न आग्रह गरेका थिए ।
जारी विवादले पार्टी फुटको संघारमा पुगेको भन्दै पौडेलले लचिलो भएर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले लचिलो हुने पालो ओलीको भएको भन्दै सचिवालय बोलाउन नसक्ने भएमा संसदीय दलको निर्वाचन गराउने बताएका थिए ।
शनिबार बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेका थिए । तर, उनले बैठक नबोलाउने अडान लिएका थिए । प्रधानमन्त्रीको व्यवहारबाट रुष्ट बनेका प्रचण्डलाई फकाउन प्रधानमन्त्रीले महासचिवलाई पठाएको स्रोतको दाबी छ ।
सचिवालय सदस्यहरुबाटै दबाबमा परेका प्रधानमन्त्री ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएर मिलेर अघि बढ्न आग्रह गरेका थिए ।