पूर्वएमालेलाई एक बनाउने ओलीको प्रयास, माधव नेपालसहितका नेतासँग गरे छलफल

पूर्वएमालेलाई एक बनाउने ओलीको प्रयास, माधव नेपालसहितका नेतासँग गरे छलफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद बढ्दै जाँदा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेहरुलाई एक बनाउने प्रयास गरिरहेका छन् । यसैक्रममा आज उनले पार्टीका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेसँग प्रधानमन्त्रीले कुराकानी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। भेटमा उनले पूर्वएमाले एक बन्न नसकेमा नेकपा माओवादीमय बन्न सक्ने चेतावनी दिएका थिए । 

शनिबार अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले अध्यक्ष ओलीलाई लिखित पत्र दिएर सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए। सचिवालय सदस्यहरूबाट आएको मागपछि उत्पन्न परिस्थितिमा अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेका हुन्।

शनिबार नेता नेपालले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।