नेकपाको विवाद समाधान कार्यदल पुनः सक्रिय हुँदै, आज ओली-प्रचण्डलाई भेटेर दिंदैछ यस्तो सुझाव

नेकपाको विवाद समाधान कार्यदल पुनः सक्रिय हुँदै, आज ओली-प्रचण्डलाई भेटेर दिंदैछ यस्तो सुझाव

काठमाडौं । जारी विवादलाई लिएर नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुरी बढेपछि नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधान कार्यदलका सदस्यहरू पुनः सक्रिय भएको छ । सो कार्यदलले आज सामूहिक रुपमा ओली र प्रचण्डलाई भेटेर पार्टी एकताको लागि पुन सहमति कायम गर्न दबाव दिने भएको छ । 

परिणाम जे आए पनि भेटेर सुझाव दिनु राम्रो हो भन्ने लागेर भेटका लागि छलफल भइरहेको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताएका छन् । पाण्डेले ट्वीट गर्दै भनेका छन्, ‘पार्टीभित्रको समस्यालाई मिलाउन हिजोको कार्यदलका सदस्यहरूले अध्यक्षहरूलाई भेटेर कुरा गर्ने कि भन्ने छलफल गर्दैछौँ । परिणाम जे आएपनि प्रयास भने जारी राख्नु राम्रो होला भन्ने लागेको छ ।’

गत साउनमा नेकपाले गठन गरेको कार्यदलको प्रतिवेदनकै आधारमा २६ भदौमा स्थायी समितिले नेकपाको विवाद टुंगो लगाएको थियो । आगामी दिनमा विवाद नगर्ने भनेर दुई अध्यक्षले २६ भदौलाई कट अफ डेको रूपमा पनि व्याख्या गरेका थिए ।

त्यो कार्यदलले प्रधानमन्त्रीका रूपमा पाँच वर्ष नै केपी ओलीलाई जिम्मा दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डमा केन्द्रीत गर्ने सुझाव दिएको थियो । त्यही सुझावका आधारमा सहमति जुटेको थियो । तर, अहिले यी दुबै सहमति कार्यान्वयन भएका छैनन् । र, नेकपाको विवाद उत्कर्षतिर लागेको छ । 

कार्यदलमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल थिए । यो कार्यदले अध्यक्षद्धयलाई प्रतिवेदन बुझाएसँगै निस्क्रिय भएको थियो ।