आरोप प्रत्यारोपमै सकियो ओली-प्रचण्डबीचको भेटवार्ता

आरोप प्रत्यारोपमै सकियो ओली-प्रचण्डबीचको भेटवार्ता

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता विना निष्कर्ष टुंगिएको छ । पछिल्लो समय बढ्दै गएको नेकपाभित्रको विवाद समाधानका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । दुई अध्यक्षबीचको काराकानी आरोप प्रत्यारोपमै सिमित भएको स्रोतले बतायो । 

अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्रीले प्रदेश नम्बर १ का आफू निकट प्रदेश कमिटी सदस्यहरुसँग गरेको जुमसंवादबारे चासो व्यक्त गरेका थिए । उनले जनताको बहुलदीय जनवादको विषयमा भएको संवादबारे प्रधानमन्त्रीलाई सोधेका थिए । साथै प्रचण्डले तपाईको राजीनामा कस्ले मागेको छ भन्दै प्रश्न गरेका थिए । 

बैठक बोलाएर सामूहिक छलफल गर्न दवाव दिंदै प्रचण्डले यसरी फूटको संकेत दिँदा कार्यकर्ता र जनतामा नकारात्मक सन्देश जाने भन्दै आपत्ति जनाएका थिए । तर, प्रधानमन्त्री ओलीले दुई अध्यक्ष बसेर विवाद समाधान गरेपछि मात्र बैठक बोलाउन सकिने जवाफ दिँदै आएका छन् । साथै ओलीले खुमलटारमा पनि गुटको भेला गरेर पार्टी कार्यकर्तामा ठीक सन्देश नजाने बताएका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार पार्टीभित्र आफू घेराबन्दीमा परेको भन्दै तयारी अवस्थामा रहन प्रदेश कमिटी नेताहरुलाई निर्देशन दिएका थिए । बुधबार प्रदेश नम्बर १ को कमिटी भेलालाई जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु समूह बनाएर आफूमाथि लागेको बताएका थिए ।