वामदेवपछि बादललाई पनि राष्ट्रपतिले गरिन् यस्तो आग्रह

वामदेवपछि बादललाई पनि राष्ट्रपतिले गरिन् यस्तो आग्रह

काठमाडौं । नेकपाभित्रको विवाद चर्किदै जाँदा राष्ट्रपति विद्या भण्डारीले विभिन्न नेताहरुलाई शितल निवास बोलाएर छलफल गरिरहेका छिन् ।  गत मंगलबार उनले उपाध्यक्ष वामदेव गौतमलाई आफैले टेलिफोन गरेर बोलाई भेट गरेकी भण्डारीले त्यसको भोलिपल्टै हिजो बुधबार  गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामवहादुर थापा बादललाई पनि बोलाएर छलफल गरेकी छिन् । 

स्रोतका अनुसार वामदेव र बादल दुबैलाई उनले पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेकी थिइन् । घुमाउरो पाराले उनले जारी विवादमा प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिन आग्रह गरेको बताइन्छ । 

नेकपा सचिवालयमा जहिले पनि ओलीको संकट उपाध्यक्ष गौतम र सचिवालय सदस्य समेत रहेका बादलको मध्यमार्गी धारका कारण मात्र जोगिएको छ । अहिले पनि राष्ट्रपति भण्डारीले गौतम र बादललाई फकाएर ओलीको संकट टार्नका लागि पहल थालेकी हुन् । 

राष्ट्रपतिले भेट्न बोलाएपछि अघिल्लो र पछिल्लो दिनमा शितल निवास पुगेका गौतम र थापाले आफुले सक्दो पार्टी एकता जोगाउन भूमिका खेल्ने भन्दै फर्किएका थिए । राष्ट्रपतिसँगको भेटपछि अब यी दुई नेताको भूमिका नेकपाभित्रको विवादमा कुन कित्तामा हुन्छ भन्ने केही दिनमै प्रष्ट हुने देखिन्छ ।

त्यसो त यो ओलीसँगकै सल्लाहका आधारमा राष्ट्रपति भण्डारीले भेटघाटका सिलसिला चाल्ने गरेको पनि नेकपाभित्र चर्चा चल्ने गर्छ ।