प्रधानमन्त्री ओलीले फोनमार्फत नै प्रचण्डलाई राखे यस्तो प्रस्ताव

प्रधानमन्त्री ओलीले फोनमार्फत नै प्रचण्डलाई राखे यस्तो प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पार्टी फुटको तहसम्म अगाडि बढेपछि प्रधानमन्त्री ओलीले केही लचक हुने संकेत गरेका छन् । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको वार्तामा उनले पार्टी कमिटीले गरेका निर्णय कार्यन्वयन नगर्ने र त्यसमा असहमति भएमा पार्टीलाई अलग गरेर अगाडि बढ्ने प्रस्ताव गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको थियो । 

विवाद बढ्दै जाँदा ओली र प्रचण्ड समूह आ आफ्नो रणनीति तय गर्न व्यस्थ रहेकै बेलामा मंगलबार विहान ओलीले प्रचण्डसँग फोनमा वार्ता गरेको बताइन्छ । फोन वार्तामा ओलीले पहिले आफूहरु दुईबिच सहमति कायम गरेर मात्र सचिवालय बैठकमा बस्ने बताएको स्रोतले बतायो । 

ओलीको प्रस्तावपछि प्रचण्डले वार्ताको लागि तयार रहेको बताएका छन् । सम्भवत आज भोलि नै उनीहरुबीच विस्तृतमा वार्ता हुने भएको छ । ओली वार्तामा लचक भएर सहमतिमा नआए प्रचण्ड माधव नेपाल समूहले कडा रुपमा प्रस्तुत हुने रणनीति तय गरेको बताइन्छ । पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका ओलीले बहुमतको निर्णयलाई नमानेमा एउटै पार्टीमा रहनुको अर्थ नरहेको निष्कर्षमा प्रचण्ड नेपाल समूह पुगेको हो । 

पछिल्ला दिनहरुमा कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै ओली प्रचण्डसँग रुष्ट भएका थिए । त्यसपछि कर्णालीमा आफूनिकट नेताहरुलाई कारवाही गर्ने तयारी भएपछि ओलीले बहुमतको नाममा लादिएको निर्णय नमान्ने भन्दै सल्लाहामै पार्टी फुटाउने प्रस्ताव प्रचण्डलाई गरेका थिए । ओलीको सो प्रस्तावको पराकम्पन नेकपामा अझै आइरहेको छ ।