कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुँदै, ओली पक्षका दुई मन्त्री हटाइँदै

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुँदै, ओली पक्षका दुई मन्त्री हटाइँदै

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्री हेरफेरको तयारी गरेका छन् । मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरू भएको विवाद मन्त्री बर्खास्तीको तहसम्म पुग्न लागेको हो ।

जानकारी नदिइ संसदीय दलमा उपस्थित नभएको र नैतिकताका आधारमा राजीनामा दिन सुझाउँदा पनि नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय दुई मन्त्रीलाई मुख्यमन्त्री शाहीले हटाउन लागेका हुन् । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्तको तयारी गरेको स्रोतले बताएको छ ।

आफूलाई मन्त्रीबाट हटाउन लागिएको सूचना पाएलगत्तै सामाजिक विकासमन्त्री रावलले फेसबुकमार्फत आफूलाई सहयोग गर्नेहरूप्रति ऋणी रहेको भन्दै स्टाटस लेखेका छन् ।


मुख्यमन्त्री शाहीले नेपाल पक्षसँगको सहमती अनुसार हाल खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय पनि एक मन्त्री थप्न लगेका हुन् । उनले नेपाल पक्षका करवीर शाही, अमरबहादुर थापा र चन्द्रबहादुर शाहीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

ओली पक्षका नेता यामलाल कँडेलले प्रचण्ड निकट मुख्यमन्त्री शाहीविरुद्ध गत असोज २५ गते अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्र विवाद सुरु भएको थियो ।