प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ : प्रवक्ता श्रेष्ठ

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर एजेन्सी रअका प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले उनीहरुबीच भएको भेटवार्ताको विषयमा पार्टीलाई पूर्व जानकारी नदिएको र भेटपछि पनि कुनै छलफल नभएको प्रस्ट पारेका छन्।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना भेटेको बताएका छन्।

‘भारतको गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गरेर फिर्ता भएछन्। प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारे पूर्व जानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन,’ श्रेष्ठले लेखेका छन्।

उनले नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको बताएका छन्।