डा. गोविन्द केसीले सरकारसँग राखे अर्को माग

डा. गोविन्द केसीले सरकारसँग राखे अर्को माग

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले कोभिडका बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्था गर्ने व्यवस्था तत्काल गर्न माग गरेका छन् । आज विज्ञप्ति जारी गर्दै डा केसीले निःशुल्क उपचारको व्यवस्था नगरिनु संविधानको उल्लंघन र सर्वोच्च अदालतको अवहेलना हुने बताएका छन्।

कोभिडको निःशुल्क उपचारका लागि सरकारमा हुने मानिसहरुले निरन्तर गरिरहेको अचाक्ली भ्रष्टाचारमात्रै कम गरेपुग्ने उनको भनाइ छ। ‘सरकारको उक्त कदमको चौतर्फी विरोध भइरहेको छ। नागरिकस्तरको त्यस्तो विरोध महत्वपूर्ण छ र सरकारलाई जवाफदेही बनाउन यस्तो प्रयास लगातार भइरहनुपर्छ,’ डा केसीले विज्ञप्तिमा भनेका छन्, ‘तर यथार्थ के हो भने नागरिकलाई स्वास्थ्य सेवा दिने विषयमा सरकारले हात उठाएको धेरै अगाडि हो। अहिले कोभिडका बेला उपचारमा जुन समस्या देखिएको छ, त्यो लक्षण मात्रै हो। रोगचाहिं हाम्रो सार्वजनिक स्वास्थ्य प्रणालीमा सरकारले गर्ने असाध्यै सानो लगानी हो।’

केन्द्रदेखि गाउँ तहसम्म पञ्चायतको सुरुआततिर बनेका संरचनाका भरमा अहिलेसम्म सेवा दिनु, तिनको स्तरोन्नति र बिस्तार स्थानीय जनप्रतिनिधिदेखि प्रदेश र केन्द्र सरकारको प्राथमिकतामा नपर्नु र सरकारमा पुग्ने पार्टीहरु निजी अस्पताल र स्कुल खोलेर व्यापारतिर लाग्नुमा समस्याको जड लुकेको उनको भनाइ छ।