प्रधानमन्त्रीले गत चैतदेखिको लिएका छैनन् पारिश्रमिक

प्रधानमन्त्रीले गत चैतदेखिको लिएका छैनन् पारिश्रमिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतदेखि नै पारिश्रमिक नलिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । कोरोना महामारी नियन्त्रणमा नआउन्जेल पारिश्रमिक नलिने घोषणा प्रधानमन्त्रीले यसअघि नै गरेको उनले स्पष्ट पारेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रेस  सल्लाहकार थापाले भनेका छन्,'प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ चैत महिनादेखि मासिक पारिश्रमिक लिनु भएको छैन र कोरोना महामारी नियन्त्रणमा नआउन्जेल नलिने घोषणा पहिल्यै गर्नुभएको सबैमा अवगत नै छ ।'

यससँगै उनले मन्त्रिपरिषद्का सदस्यहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको समेत उल्लेख गरेका छन् । महामारीको बेलामा सांसदहरुले दशैंभत्ता लिएको भन्दै चौतर्फी विरोध भएपछि विभिन्न दलका नेताहरूबाट दशै भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए ।