'दशैंमा ज्येष्ठ नागरिक र दीर्घबिरामीबारे १० कुरा ख्याल गरौं'

'दशैंमा ज्येष्ठ नागरिक र दीर्घबिरामीबारे १० कुरा ख्याल गरौं'

काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ । दशैंमा मान्यजनसंग टीका, जमरा लगाउने तथा आशीर्वाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ । यसपटक हामी विषम परिस्थितिमा छौं । कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन । देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन् । यही अवस्था रहेमा उपचार नपाएर मृत्यु हुने सम्भावना बढेको छ । तसर्थ निम्न लिखित उपाय अवलम्बन गर्न अनुरोध गर्दछु ।

१, ज्येष्ठ नागरिकलाई बचाऔं

- दशैंमा यो पटक हाम्रा पूजनीय तथा मान्यजनकहाँ टीका लगाउन जाने नगरौं । घरमा ज्येष्ठ नागरिक हुनुभएका परिवारका अन्य सदस्यले आफन्त तथा ज्येष्ठ नागरिकलाई संक्रमणबारे बताएर यो पटक फोन वा इन्टरनेटको माध्यमबाट मात्र आशीर्वाद तथा शुभकामना लेनदेन गरौं । औपचारिकता निभाउँदा वा कसले के भन्ला ?भनेर चाडपर्व मनाउँदा ज्येष्ठ नागरिक तथा दीर्घबिरामीलाई संक्रमण सर्यो भने उहाँहरुको जीवन नै जोखिममा पर्न सक्छ । तसर्थ पहिले खोप लगाऔं अनि टीका लगाउँला ।

- आदरणीय छोरा, बुहारी, छोरी, ज्वाईं, भान्जा, भान्जी, नाति, नातिनी तथा छिमेकीगणहरुले यो पटक आफ्ना बुवा, आमा, हजुरबुवा, हजुरआमा, मामा, माइजु, काका, काकी, सासु, ससुरा लगायत मान्यजनलाई आफैले फोन गरेर यो पटक हामी आउँदैनौं भनेर कन्भिन्स गरौं ।

- हाम्रा उमेर पुगेका ज्येष्ठ नागरिकले कोरोना संक्रमणको गम्भीरता नबुझेर वा अर्को साल के हो ? के हो ? भन्ने सोंचेर टीका लगाउने ढिपी गर्न सक्नुहुन्छ । उहाँहरुलाई कन्भिन्स गरेर हुन्छ कि सुरक्षित ठाउँमा राखेर हुन्छ, यो व्यवस्थापन गर्ने जिम्मेवारी पुरा गरौं ।

२, काठमाडौं लगायत सहरमा बसिरहेकामध्ये जुन व्यक्ति तथा परिवार माघसम्म गाउँमा बस्ने, महामारी र महँगीबाट बच्ने तथा गाउँमा नै केही गर्ने सोच छ भने उहाँहरु गाउँ जानु सुरक्षित हुन्छ । तर कर्मचारी / ब्यापारी आदि जो टीका लगाएर तुरुन्तै फर्किने सोचमा हुनुहुन्छ भने कृपया गाउँमा नजानुहोला । हाम्रो कारण मान्यजनलाई रोग सर्यो र उहाँहरुलाई जोखिम भयो भने जीवन पश्चात्तापमा बिताउनुपर्ने हुन्छ । तसर्थ लामो समय गाउँमा बस्न नमिल्ने व्यक्तिहरु अहिले जो जहाँ छौं, त्यहीं बसौं ।

३, घरबाहिर जस्तै आँगन, बरण्डा तथा कम्पाउण्डभित्र खुला ठाउँमा बसेर, सबैले मास्क लगाएर, टीका लगाइदिने व्यक्तिले सम्भव भएमा मास्क तथा फेस सिल्ड लगाएर, प्रत्येक पटक ह्याण्ड स्यानिटाइजरले हात सफा गरेर तथा दुरी कायम गर्न हातमा टीका/जमरा दिने गरौं । टीका लगाउने ठाउँमा एकपटक पनि मास्क नखोलौं । दक्षिणा खामभित्र राखेर मात्र दिने गरौं । टीका लगाउने ठाउँमा पानी, खाना, खाजा, चिया आदि यसपटक केहि पनि खानपिन नगरौं । यसो गर्दा मास्क खोल्नुपर्दैन, सामानबाट भाइरस सर्दैन । टीका लगाउने ठाउँमा १-२ मिनेटभन्दा धेरै नबसौं । टाढा बसेर पालो कुरौं !

४,  बलि, जात्रा, पारम्पारिक नाचगान तथा भेटघाट यो पटक स्थगित गरौं ।

५, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घबिरामी गाउँ जानु परेमा सार्वजनिक यातायात प्रयोग नगरौं । माइक्रोबस वा टाटा सुमो रिजर्भ गरेर जाने गरौँ । एकै ठाउँ जाने व्यक्तिहरुले बस रिजर्भ गरेर जाँदा थप सुरक्षित हुन्छ ।

६,  दशैं, तीहार, न्युंदयाँ आदि चाडपर्वमा मानिसको आवतजावत र ओहोरदोहोर रोक्नका लागि सरकारले विशेष सुरक्षा योजना कार्यान्वयन गरोस् । भन्न नमिल्ने, यो १ महिना जनतालाई राहत दिएर तथा व्यवसायीलाई सहुलियत दिएर कडा कर्फ्यु वा लकडाउन गर्ने हो भने महामारी ६०% भन्दा धेरै नियन्त्रण हुनेथियो । लाखौं व्यक्तिलाई संक्रमणबाट बचाउन सकिन्थ्यो । अस्पतालले धान्ने अवस्था आउने थियो । यसै पनि चाडपर्वमा ब्यापार हुँदैन ।

७,  सही तरिकाले अनिवार्य रुपमा मास्क लगाउने, सुरक्षा दूरी कायम गर्ने, भीडभाड नगर्ने, भीडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा बस्ने तथा हातको नियमित सफाइ गर्ने कुरामा हामी लापरबाह हुने हो भने हामीलाई प्रत्येक पाइलामा खतरा छ । संक्रमण भएर अस्पतालमा बस्नुपर्यो भने त्यो अवस्था अकल्पनीय हुन सक्छ । तसर्थ हामी सबैले स्वअनुशासन पालना गरौ ।

८,  सरकारले ब्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेर हरेक टोल, बस्ती, गल्ली आदिमा गस्ती गर्ने, माइकिङ गर्ने, अनुगमन तथा निगरानी राख्ने गर्नु ढिलो भइरहेको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यक्तिलाई पालना गराउने, जरिवाना लगाउने तथा राज्यसँग विश्वास र डरको बाताबरण बिकास गर्ने काममा राज्य असफल हुनु हुँदैन ।

९,  खसी बजार, तरकारी पसल, फुटपाथ पसल आदिलाई खुला ठाउँमा मापदण्ड अपनाएर संचालन गर्ने/गराउनेमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

१०,  धेरै संक्रमितले परीक्षण गरेका छैनन्, संक्रमितले पनि आफ्नो पहिचान लुकाएका छन्, लक्षणविहीन संक्रमित धेरै छन् । दैनिक परीक्षणमा २०– ३०% संक्रमित देखिएका छन् । यसको अर्थ हरेक ५ जनामा १ जना संक्रमित छन् । चाडपर्वको भीडभाडले संक्रमण फैलिने निश्चित अवस्था छ । आईसीयु, भेन्टिलेटर, क्रिटिकल केयर विज्ञहरु, नर्सहरु मात्र हैन, आइसोलेसन बेडको पनि अभाव भइसकेको छ । त्यसैले आफ्नो, परिवारको, आफन्तको तथा समाजको जीवनरक्षा गर्नु हामी सबैको कर्तब्य हो । चाडपर्व हरेक साल हुन्छन् । तसर्थ यो पटक जोखिम वर्गलाई बचाउने काम गरौं । यसबाट हामी सबैलाई ठूलो पुण्य आर्जन हुनेछ ।