ओली-प्रचण्डबीच बिग्रियो सम्बन्ध, ओलीले भेट्न खोज्दा प्रचण्डले फर्काए यस्तो जवाफ

ओली-प्रचण्डबीच बिग्रियो सम्बन्ध, ओलीले भेट्न खोज्दा प्रचण्डले फर्काए यस्तो जवाफ

काठमाडौं । नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्याकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्धमा फाटो आएको छ । पछिल्लो समय दुई अध्यक्षबीच बोलचालै बन्द भएको छ । 

प्रदेश सरकारका देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा छन् । विहीबार र शुक्रबार दुईदिन कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका उनीहरु शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पनि शनिबार बालुवाटार बोलाएका थिए । तर, प्रचण्डले प्रधानमन्त्रीलाई ‘तपाई आफैं छलफल गर्नोस्, म बालुवाटार आउदिन’ भन्ने जवाफ फर्काएका थिए । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका हुन् । प्रदेश कमिटीका पदाधिकारीहरु तीन दिन पहिले नै काठमाडौं आइपुगे पनि प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएका कारण विहीबार र शुक्रबार प्रचण्डले एक्लै छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले चाहिँ तीन दिनपछि बल्ल शनिबार बिहान मात्रै उनीहरुलाई सामुहिकरुपमा भेट्ने समय दिएका हुन् । कर्णालीका पदाधिकारीसँग दुबै अध्यक्षले बसेर छलफल गरौं भन्दै प्रधानमन्त्री ओलीले शनिबार बिहान प्रचण्डलाई बालुवाटार बोलाएका थिए । तर, प्रचण्डले प्रधानमन्त्रीको निम्तो अस्वीकार गरेपछि नेकपाको विवाद छताछुल्ल भएको छ ।