मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपूर्ण निर्णय

मन्त्रिपरिषद् बैठकले गर्यो महत्वपूर्ण निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूलाई नमूना बन्नेगरी काम गर्न निर्देशन दिएका छन् । बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

मन्त्रिमण्डल पुनर्गठनपछि पहिलोपटक बसेको मन्त्रिपरिषद बैठकमा ओलीले नवनियुक्त मन्त्रीहरूलाई बधाइ दिए । ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न सबै मिलिजुली अघि बढ्नुको विकल्प नभएकोसमेत मन्त्रीहरूलाई ब्रिफिङ गरेका थिए ।

बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको छ ।  खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ । सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।