काठमाडाैं । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आएका छन् । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।
यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले गत फागुनमा राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त थियो ।
सहरी विकासमा भने कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ । उनी काठमाडौं क्षेत्र नम्बर ९ बाट विजयी भएका हुन्। तत्कालीन एमालेका उम्मेदवार श्रेष्ठले कांग्रेसका उम्मेदवार ध्यान गोविन्द रंजितलाई हराएका थिए।