नेकपाको जारी विवादको समाधान खोज्न  ओली–प्रचण्डबीच छलफल जारी

नेकपाको जारी विवादको समाधान खोज्न  ओली–प्रचण्डबीच छलफल जारी

काठमाडौं । नेकपाभित्रको जारी विवादको समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच यतिवेला छलफल जारी छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गराउने विषयमा दुवै शीर्ष नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भइरहेको छ । 

यसअघि नै प्रचण्डले विवाद सल्ट्याउन ओलीलाई आग्रह गरिसकेका छन्।  आज बिहान पनि संसदीय दलका उपनेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षसँग कुरा गर्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।  ओलीनिकट नेताहरूले पनि अहिले विवाद चर्काउने बेला नभएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिन आग्रह गरिसकेकाले दुई अध्यक्षले  निर्देशन पठाउने तयारी गरेका छन्।  

यस्तै, नेता माधवकुमार नेपाल पक्षले पनि अविश्वासको प्रस्तावबाट पछि  हट्न आफू निकटका सांसदहरुलाई निर्देशन दिइसकेको छ।  सुर्खेतमा अहिले दुवै पक्ष छलफलमा जुटेका छन् । नेता नेपालले सहजीकरण गर्न पठाएका केन्द्रीय सदस्य नीरज आचार्यले वार्ताको सहजीकरण गरिरहेका छन्। 

आजको भेटमा आली ३ मन्त्रालयमा ३ मन्त्री नियुक्त गर्ने विषयमा पनि अध्यक्षद्धयबीच सहमति खोज्ने प्रयास हुने भएको छ । ओली र प्रचण्डबीच दशैं पछि मात्र मन्त्रिमण्डल पुर्नगठन गर्ने सहमति भएपनि खाली ३ मन्त्रालयमा भने तत्काल मन्त्री नियुक्त गर्ने समझदारी बनेको थियो ।