मुख्यमन्त्री शाहीलाई हटाउने निर्णयबाट पछि हट्यो नेपाल समूह

मुख्यमन्त्री शाहीलाई हटाउने निर्णयबाट पछि हट्यो नेपाल समूह

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने निर्णयबाट माधव नेपाल समूह पछि हटेको छ । माधव नेपालसमूहका सातजना नेताले मुख्यमन्त्री शाही हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ती सबैलाई हस्ताक्षर फिर्ता लिन सहमत गराइसकिएको नेपालनिकट एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरूसँग मिलेर मुख्यमन्त्री शाहीविरुद्ध विद्रोह गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ति जनाएका थिए । अरू प्रदेशमा पनि सल्कने चेतावनी दिएका थिए । त्यसपछि नेता नेपालले जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नीरज आचार्यमार्फत आफूनिकट पक्षधर सांसदहरूलाई कन्भिन्स गराएपछि उनीहरू पछि हट्न तयार भएको स्रोतको दाबी छ । 

आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाफजङ शाहलाई बर्खास्त गरेका थिए र, उनको ठाउँमा सचेतक सीता नेपाली ल्याएका थिए । निलम्बित शाहले आज दिउँसो १ बजे बैठक बोलाएका थिए । तर, बैठक बस्ने सम्भावना नरहेको एक सदस्यले बताए । प्रधानमन्त्रीनिकट तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि समस्या नचर्काउन अपिल गरिसकेका छन् ।

ओली पक्षका प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।