काठमाडौं । सत्तारुढ दल नेकपाका कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीमाथि परेको अविश्वास प्रस्तावको विषयमा मंगलबार १ बजे प्रदेशको नेकपा संसदीय दलमा छलफल हुने भएको छ । एक सांसदका अनुसार अविश्वास प्रस्ताव फिर्ता हुने संभावना निकै नै कम छ।
आइतबार नेकपा सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदले नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीहरुले नेकपा संददीय दलका नेता तथा मुख्यमन्त्री शाहीले पार्टी र सरकार सञ्चालन प्रभावकारी रुपमा गर्न नसकेको भन्दै सो प्रस्ताव दर्ता गराएका हुन्।शाहीमाथि परेको अविश्वास प्रस्ताव फिर्ता गराउन अहिले सो प्रदेशका नेताहरुबीच सुर्खेतमा छलफल भइरहेको छ।
माधवकुमार नेपाल र पुर्वमाओवादी केन्द्रका नेताहरुबीच पहिलो चरणमा छलफल गरेपछि यामलाल कँडेल लगायतका संसदहरुसँग छलफल गर्ने तयारी भइरहेको बैठकस्थलमा रहेका एक नेताले बताए।
कर्णालीका मुख्यमन्त्री शाहीमाथि अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले हिजै कर्णालीका नेताहरुसँग टेलिफोनमा कुरा गरेका थिए।सोमबार विहान सो प्रदेशका इन्चार्ज जनार्दन शर्मा, स्थायी समिति सदस्य वर्षमान पुन लगायतका नेतासँग प्रचण्डले आफ्नै निवास खुमलटारमा फेरि छलफल गरेका थिए।
त्यसलगत्तै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि प्रचण्डले छलफल गरे। त्यसपछि प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटी कर्णलीको विवाद मिलाउन दवाव दिएका थिए ।