कर्णाली प्रदेशको विवाद पार्टी एकताको मर्म विपरीत भयो, ओलीले नै मिलाउनुपर्छः प्रचण्ड

कर्णाली प्रदेशको विवाद पार्टी एकताको मर्म विपरीत भयो, ओलीले नै मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद एकताको मर्म विपरीत भएको भन्दै मिलाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। तत्कालीन एमाले र माओवादी एकताअघि मुख्यमन्त्री भागवण्डा हुँदा कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो। 

पूर्व एमालेतर्फका १५ सांसद र पूर्वमाओवादीका ३ सांसदले शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। सोमबार ओलीसँग बालुवाटारमा झण्डै एक घण्टासम्म भएको भेटमा प्रचण्डले विवाद मिलाउने जिम्मा ओलीकै भएको बताए । 

शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसद यमलाल कँडेल प्रधानमन्त्री ओली निकटका हुन्। उनी मुख्यमन्त्रीका आकांक्षी समेत हुन्। प्रचण्डले पार्टी एकताको काम नसकिँदै एकता विपरीतको गतिविधि भएकोमा प्रधानमन्त्री ओलीविरूद्ध असन्तुष्टि जनाएका थिए। 

ओलीलाई भेट्नुअघि प्रचण्डले वरिष्ट नेता नेपाललाई पनि भेटेर यसबारेमा छलफल गरेका थिए । ओलीपक्षका नेताहरुको सारमा नेपाल पक्षका नेताहरु पनि लागेर पूर्वमाओवादी निकट मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको भन्दै प्रचण्डले आपत्ति जनाएका थिए ।