काठमाडौं । कर्णालीका मुख्यमन्त्रीविरूद्ध पेश भएको अविश्वास प्रस्ताव र नयाँ तीन मन्त्रीबारे छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटारमा बिहान पौने १० बजेदेखि जारी भेटवार्तामा मन्त्री हेरफेर र कर्णाली प्रदेशका मुख्यमन्त्रीमाथिको अविश्वास प्रस्तावबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।
आफ्नै पार्टीका सांसदले शनिबार कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि यस विषयमा अध्यक्षद्वयबीच छलफल भइरहेको हो ।
कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ सांसदमध्ये १८ जनाले पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध हस्ताक्षर अभियान सुरू भएको बताइएको छ ।
पार्टी केन्द्रको विवाद मत्थर हुँदा नहुँदै प्रदेशमा समस्या देखिएपछि नेताहरू त्यसलाई सुल्झाउन लागि परेका हुन् । यस्तै लामो समयदेखि रिक्त तीन मन्त्रालयमा कसलाई लैजाने भन्नेबारे पनि ओली-प्रचण्डबीच सहमतिको प्रयास भइरहेको स्रोतको दाबी छ ।