एकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु, कुन जिल्लामा कति ?

एकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु, कुन जिल्लामा कति ?

काठमाडौं । नेपालमा शनिबार एकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

११ वटा जिल्लाका ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ५ जना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। 

सुनसरीमा ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९, भक्तपुरमा ४४ र ५७, नुवाकोटमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

यस्तै, चितवनमा ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीया महिला, सिन्धुपाल्चोकमा ६३, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५९ प्रतिशत छ।  

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ जना पुगेको छ।