काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । शनिवार उनले आफूमाथि कोरोना संक्रमण भएको जनाएका छन् । गत सोमबार कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा उनी काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी हुन गएका थिए ।
शुक्रबार कार्यक्रमबाट निवासमा फर्केपछि आफूमा हल्का ज्वरोको महशुस भएको भट्टराईले जानकारी दिएका छन् । त्यसपछि आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आएको भट्टराईको भनाइ छ ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्- गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौंबाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो । शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरोबाहेक अरू समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु । होसियार रहनु र परिआएमा सामना गर्नुबाहेक के नै पो विकल्प छ र ?