अमेरिकी कवयित्री लुइस ग्लुकलाई नोबेल साहित्य पुरस्कार

अमेरिकी कवयित्री लुइस ग्लुकलाई नोबेल साहित्य पुरस्कार

अमेरिकी कवयित्री लुइस ग्लुकलाई यस वर्षको नोबेल साहित्य पुरस्कार दिइने भएकाे छ । स्वीडिस एकेडेमीले गरेको घोषणाअनुसार उनका कविता वैयक्तिक भए पनि तिनको वैश्विक भाषा, भोगाइ र भाष्यका लागि यो पुरस्कार दिन लागिएकाे हो । सन् १९४३ मा न्युयोर्क सहरमा जन्मिएकी उनले सारा लरेन्स कलेज र कोलम्बिया विश्वविद्यालयमा अध्ययन गरेकी छन् । उनका कविताले ‘हाउभाउको शास्त्रीयता’लाई ठाउँ दिएको भन्दै कवि रोसान्ना वारेनले एक समय टिप्पणी गरेकी थिइन् ।

उनका कवितामा पर्सिफोनी र डिमिटरजस्ता रोमन र ग्रिसेली मिथकलाई बारम्बार प्रयोग गरी एउटा शैली नै उभ्याएकी छन् । उनका कवितामा प्रायः ‘म’ मुखर भएर प्रस्तुत हुन्छन् । कविता पढ्दा वैयक्तिक लागे पनि व्यक्तिका भोगाई, प्राविधिक मिहिनता, संवेदना, एक्लोपनाको दिक्दारी, पारिवारिक सम्बन्ध, पारपाचुके, मृत्युजस्ता कुरालाई प्रमुख ठाउँ दिने गरेकी छन् ।

सन् १९६८ मा पहिलो कविता संग्रह ‘फर्स्टबर्न’ प्रकाशित भएयता नै उनलाई प्रतिभाशाली कविका रूपमा हेरिएको थियो । उनका द हाउस अन मार्सल्यान्ड (१९७५), द गार्डेन (१९७६), डिसेन्डिङ फिगर (१९८०), द ट्रम्फ अफ एकिलिज् (१९८५), अरारत (१९९०) जस्ता कविता प्रकाशित छन् । द वाइल्ड आइरिस (१९९२) का लागि उनले पुलित्जर पुरस्कार प्राप्त गरेकी थिइन् ।

सन् १९९६ मा मिडोल्यान्ड, १९९९ मा भिटा नोभा, २००१ मा द सेभेन एजेज्, २००६ मा एभेर्नो कविता संग्रह प्रकाशित गरिसकेकी उनले भिटा नोभा कृतिका लागि येल विश्वविद्यालयले प्रदान गर्ने सुविख्यात बोलिङजेन पुरस्कारसमेत हात पारेकी छन् । उनको २००९ मा बजारमा आएको ‘अ भिलेज लाइफ’को कथानक शैलीले त्यो बेला निकै चर्चा पाएको थियो । सन् २०१२ मा उनका चुनिएका कविता संग्रह ‘पोयम्स १९६२-२०१२’ हातहातै बिक्री भएको थियो ।

२००३ मा विरलै दिइने पदवी युएस पोयट लरेट (नेपालको राष्ट्रकवि जस्तो) उनले पाएकी थिइन् । त्यही बेलादेखि २०१० सम्म उनी येल शृंखलाअन्तर्गतको योङ्गर पोयट्सको निर्णायकका रूपमा रहेकी उनको निबन्ध संग्रह प्रुफ्स एन्ड थिअरिज् (१९९४)ले पेन अवार्ड फर ननफिक्सन प्राप्त गरेको थियो । अघिल्लो वर्ष अस्ट्रियाका उपन्यासकार पिटर हान्डकेलाई पुरस्कार प्रदान गर्ने घोषणा हुँदा भने चर्को विरोध भएको थियो ।

सन् १९९० को युगोल्साभ युद्धताका उनी सर्भियालीहरूको पक्षमा रहेको र त्यस बेलाका नेता स्लोबोदान मिलोसेभिकको युद्धअपराधको समर्थक रहेको भन्दै नैतिक रूपमा पतन भएका उपन्यासकारलाई पुरस्कार दिइएकोमा असन्तुष्टि जनाइएको थियो । उनी मिलोसेभिकको मृत्युसंस्कारमा समेत सहभागी भएका थिए । उनको पुरस्कार जफत गर्न ५८ हजारभन्दा बढीले हस्ताक्षर अभियान चलाएका थिए । कतिसम्म भने बोस्निया, अल्बानिया, कोसोभोका राजदूतहरूलाई सो समारोह वहिष्कार गर्न अभियानै चलाएका थिए । सन् २०१८ मा ओल्गा टोकार्जक पुरस्कृत भएकी थिइन् ।