नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ६ सयको निधन

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ६ सयको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुलसंक्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । पछिल्लो २४ घण्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७३ हजार २३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाले मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।