काठमाडाैं । मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यका लागि आज छलफलमा जुटेका नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ८ नयाँ मन्त्रीको नाम फाइनल भएको बताइएको छ । प्रम ओलीले दसैंपछिमात्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएपनि प्रचण्डले भने पुर्नगठनमा डिलाई गर्न नहुने भन्दै आफ्नो तर्फबाट ८जना मन्त्री बनाउने नेताको नाम बुझाएको स्रोतको दाबी छ ।
प्रचण्डले पूर्वमाओवादीको तर्फबाट ८ जना व्यक्तिको नाम मन्त्री बनाउनका लागि ओलीलाई दिएका हुन्। प्रचण्डले पूर्वमाओवादीको तर्फबाट वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र खानेपानी मन्त्री बिना मगरलाई मन्त्रीमा कायम राख्नका लागि आग्रह गरेका छन् । त्यस्तै नयाँ मन्त्रीका लागि प्रचण्डले पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभू साहलाई सिफारिस गरेका छन् ।
प्रचण्डले पूर्व एमालेका को कसलाई हटाउने र को कस्लाई मन्त्री बनाउने भन्ने विषय वरिष्ट नेृताद्धय झलनाथ खनाल र माधव नेपालसँग परामर्श गरेर टुंगो लगाउन आग्रह गरेका थिए ।