काठमाडौं । बुधबार नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय कोरोना संक्रमित भएको खण्डमा सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको जानकारी दिइसकेको छ ।
असोज ७ गतेको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएका थिए । बुधबार थपिएकासहित नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ ।
बुधबार एकैदिन ३ हजार ४३९ संक्रमित भेटिएपछि २५ हजारभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन्। एकैदिनमा यति धेरै संक्रमित देखिएको बुधबार पहिलोपटक हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी हुन थालेपछि सामान्य सेवा पनि प्रभावित हुने भएकाले संक्रमण रोक्न पुनः लकडाउन गर्नुपर्ने सुझाव दिइएको बताए ।
उनले स्वास्थ्य मन्त्रालयले अवस्था विश्लेषण गरी सरकारलाई सुझाव दिइसकेको तर लकडाउन वा निषेधाज्ञा हुनेरनहुनेबारे मन्त्रालयले निर्णय गर्न नसक्ने बताए । उनले यसबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्न सक्ने बताए ।