काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठकमा मन्त्रिपरिषद् पुर्नगठन, विवादित नियुक्ति र पार्टी एकताका बारेमा छलफल हुने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले तत्काल खाली रहेका ३ मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्ने प्रताव पेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । मन्त्रिपरिषद् पुर्नगठन दशैं पछि गर्नेगरी तत्काललाई खाली तीन मन्त्रालयमा ३ मन्त्री थप्ने ओलीको योजना रहेको छ ।
हाल अर्थ, शहरी विकास र सञ्चार मन्त्रालय खाली रहेका छन् । यी ३ मन्त्रालयमा को-कस्लाई मन्त्री बनाउने भन्ने विषय आजको सचिवालयले टुंगो लगाउने बताइएको छ । ओलीले भने अर्थमा आफूनिकट नेता विष्णु पौडेललाई नियुक्त गर्ने तयारी गरेका छन् ।
शहरी विकास र सञ्चारमा भने प्रचण्ड र नेपाल निकट एक-एक जना नेतालाई सरकारमा लैजाने तयारी गरिएको छ । प्रचण्डले जनार्दन शर्मालाई सञ्चार मन्त्रालयमा लाने तयारी गरेको बुझिएको छ ।
यता नेपालले भने सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालयमा लैजाने तयारी गरेको बताइन्छ । यद्दपी पाण्डेले भने अर्थबाहेक अन्य मन्त्रालय सम्हाल्ने गरी आफू सरकारमा सहभागि नजनाउने बताउँदै आएका छन् । नेता नेपालले भने सुरेन्द्रलाई दशैंपछि हुने पुर्नगठनमा मन्त्रालय हेरफेर गर्ने आश्वासनसहित सरकारमा सहभागी हुन दवाव दिँदै आएका छन् ।